डा. खेमराज भट्टराई
म नेपाल सरकारको वन सेवाको फस्ट क्लास अफिसर थिएँ । जागिरको अवधि अझै ६-७ वर्ष बाँकी थियो ।त्यही अवधिमा म ०७२ सालमा सरकारी सेवाबाट राजीनामा दिएर क्यानाडा गएँ ।नजिकैको सचिव पदलाई तिलाञ्जली दिएर सहसचिवको जागिरबाट राजीनामा दिने व्यक्ति सम्भवतः म नै पहिलो व्यक्ति लागिरहेको छ । क्यानाडा जानु मेरो सोख वा बाध्यता केही थिएन । एउटा खोजको प्राप्ति थियो । चाकडी, चाप्लुसी र भनसुनले गाँजेको कर्मचारी तन्त्रका विभिन्न बान्कीहरु देखेर म भित्रभित्रै विरक्तिएको थिएँ । त्यसैले सिर्जनाविहीन लामो जागिरे जीवनबाट मुक्त भएर केही नयाँ उडान भर्ने योजना मुताविक म क्यानाडा गएँ ।
म पढाइमा सधैं अब्बल नै थिएँ । त्यसैले म साहसिक जीवन मन पराउँछु । संसारको अन्वेषण गर्न चाहन्छु। त्यसैले मैले सहसचिवको जागिर छाडेर क्यानाडा गएँ । तर, क्यानाडाको झण्डै २ वर्षको बसाईमा पनि मेरो मन नेपालमै थियो ।
क्यानडामा रहँदा…
मैले त्यहाँ अनुसन्धान थालें । क्यानडा भूगोलमा नेपाल भन्दा झण्डै ७० गुणा ठूलो संसारको एक सम्पन्न राष्ट्र भए पनि जैविक विविधतामा नेपालभन्दा धेरै गरिव पाएँ । तर त्यहाँ जैविक विविधतालाई व्यावसायिक प्रयोजनमा उपयोग गरेको पाएँ । त्यसबाट मैले नेपालको जैविक विविधतालाई व्यावसायीकरण गरी सोबाट आर्थिक समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना देखेँ । कसरी क्यानाडालाई नेपालका उत्पादनको बजार बनाउन सकिन्छ ? कसरी त्यहाँको विकसित प्रविधि भित्र्याएर कृषि र उद्योगमा आधुनिकीकरण गर्न सकिन्छ, मेरो मनमा यी नै कुराहरु खेल्न थाले ।
क्यानाडामा बस्दा मैले एउटा महत्वपूर्ण कार्य गरें । त्यो हो, नेपालमा कस्ले के गरिरहेका छन् जसबाट नेपालको कृषि र उद्योगलाई मद्दत पुुगेको छ । रोजगारी बढेको छ । आयात प्रतिस्थापन गर्न मद्दत पुुगेको छ र विदेशी मुद्रा आर्जन भएको छ । मैले मानिसहरुको विवरण संकलन गरें । उनहरुले गरेका कार्यहरुलाई नेपालको दीगो समृद्धिसँग जोड्न थालें ।
दिनहरु बित्दै गए । तर, मनमा भने शान्ति भएन । मनमा देशमै केही गर्नुपर्छ भन्ने आन्दोलन चलिरहृयो । अन्ततः मैले नेपाल फर्कने निधो गरें । मैले क्यानाडाको सवै सेबा सुविधा त्यागेर नेपाल फर्कें ।
सम्भावना खोज्दै स्वदेश फिर्ती
नेपाल फर्केर मैले सबैभन्दा पहिले ती मानिसहरुसँग भेटघाट शुरु गरें, जसका बारेमा मैले सूचना संकलन गरेको थिएँ । २७ दिनसम्म निरन्तर म ती मानिसहरुसँग भेटघाटमा रहें । ती मानिसहरु झापादेखि महेन्द्रनगर र चितवनदेखि मुस्ताङ्गसम्मका थिए । यसबाट मलाई यहाँ केही गर्न सकिन्छ भन्ने धेरै ऊर्जा मिल्यो ।
निर्वाहमुखी खेतीमा टाक्सिएका समुदाय र प्रशस्तै बाँझा फाँटहरु देखें । यसबाट म दुःखी भइनँ । मैले सम्भावना देखें । अब हामीले हाम्रा युवालाई विदेशबाट नेपाल फर्काई व्यावसायिक कृषि र कषिसँग सम्बन्धित क्षेत्रमा लगाउन प्रोत्साहन दिनुपर्छ भन्ने निश्कर्ष निकालें ।
धेरै सम्भावना मध्ये हाम्रो एउटा महत्वपूर्ण सम्भावना जडीबुुटीको छ । जडीबुटीमा हाम्रो अवस्था भर्जिन छ । यहाँ केही भएकै छैन । म आफू एउटा वनस्पतिशास्त्री पनि भएकाले मैले यसैबाट नेपालको समृद्धिको एउटा पाटो देखें ।
मेरो अनुसन्धानको क्षेत्र
यो किन पनि भन्दैछु भने, बोटानी र इकोलोजीमा मास्टर डिग्री हासिल गरेको मैले जैविक विविधतामा पीएचडी गर्ने क्रममा नेपालको १०० मिटरदेखि ६ हजार मिटर उचाईसम्मको वनस्पती र हावापानीको अन्तरसम्वन्धका बारेमा विभिन्न चरणमा अनुसन्धान गरें । यो क्षेत्रको जैविक विविधताको प्याटर्न अन्वेशण गरेँ । विभिन्न अध्यन अनुसन्धानको सिलसिलामा ७० भन्दा बढी जिल्लाको भ्रमण पनि गरें ।
मैले जैविक विविधताका बारे लामो अनुसन्धान गरें । लौंठ सल्लाको अनुसन्धान गरें । मोरिंगाको व्यवसायिक खेती शुरु गराएँ । चिराइतोको अनुसन्धान गरें र यसको व्यवसायिक उत्पादनको थालनी गराएँ ।
मह उत्पादनको प्रचुर सम्भावनाको अध्ययन गरें । सजीवनको अनुसन्धान गरें । बायोडिजल अभियान चलाएँ । बुद्धचित्तसँग गाउँका किसानहरुलाई जोडें । यसले अभियानकै रुप लियो । अहिले व्यक्तिहरुले लाखौं करोडौं कमाएको सुन्दा रमाइलो लाग्छ ।
नेपालमा जडिबुुटी र वनस्पतिको खेती अझै राम्रोसँग शुरु गरिएको छैन । व्यवसायिकरुपमा त यो छँदैछैन । नेपालमा सजिलै खेती गर्न सकिने करौंडौ रुपैयाँको निसोध भारतबाट आयत गरिन्छ । नेपालमा खेती गरी करोडौं रुपैयाँको आर्जन गर्ने सम्भावना भएको वनस्पति हो गुगुल । झण्डै सुनजस्तै महङ्गो हुने अगार उड अर्को नेपाललाई समृद्घ बनाउन सक्ने सम्भावना भएको वृक्ष हो ।
यस्ता वनस्पतिलाई व्यावसायिक गर्ने न त सरकारसँग योजना छ न त मुलुकसँग कुनै निकाय नै छ । त्यसैले त्यतातिर नै मेरो ध्यान छ ।
यी सबै कार्यले गर्दा मैले नेपालमा समृद्धिको एउटा आधार जडिबुटीको व्यापक विकासलाई लिएको हुँ । जडीबुटी र रुखको व्यावसायिक खेती र उत्पादन गरी आर्थिक अभिवृद्घ गर्न मैले एउटा अर्गानिक हर्वल फारम सुरु गर्दैछु । यो हर्वल फारम तराईदेखि उच्च हिमाली भेगसम्म विभिन्न भौगोलिक धरातलमा हुनेछ ।
नेपालमा अहिले ७३ वटा आयुर्वेदसम्बन्धी फर्मास्युटिकल छन् । तिनीहरुका लागि आवश्यक कच्चा पदार्थ प्राय बाहिरबाटै आउँछ ।यो सुन्दा यो क्षेत्रलाई धेरै नजिकबाट नहेरेका मानिसलाई त विश्वास नलाग्ला, तर नेपालका ठूला आयुर्वेद उद्योग, जस्तै गोरखा आयुर्वेद कम्पनी र सिंहदरबार बैद्यखानाको जडीबुटीको आयातको तथ्याङ्गबाट प्रस्ट हुन सक्छ ।
नेपालमा सजिलै उत्पादन हुन सक्ने अमला, हर्रो, बर्रो जस्तो कुरा पनि बाहिरबाट आउँछ । हामीले केही जडिबुटी निर्यात भइरहेको त सुन्छौं । तर, अर्बौं रुपैयाँको आयात भएको चर्चा कम हुन्छ ।
हामी किन गरीब भयौं ?
म लगभग ४० देश घुमें । अध्यन र अनुसनधानका क्रममा युरोप र एशियाका विभिन्न देशमा ६ वर्ष र व्यावसायिक अनुसन्धानका क्रममा नर्थ अमेरिकामा झण्डै २ बर्ष गरी ८ वर्ष बाहिर बसें । यो अवधिमा मलाई सधैं सताउने प्रश्न हो, हामी किन गरीब ?
मेरो जीवनको यति लामो यात्रा, अनुसन्धान र अनुभवबाट मैले के पाएँ भने हामी जम्मा दुई कारणले मात्र गरीब भएछौंः ती हुन् सही पहिचान गर्न नसकेर र पहिचान भएको विषयलाई व्यावसायीकरण गर्न नसकेर ।
हो, हामीले हाम्रो प्राकृतिक स्रोतहरुलाई व्यवसायीकरण गर्ने बारेमा योजना बनाएनौं । बनेका योजनाहरु ‘हिँड्दैछ, पाइला मेट्दैछ’ जस्तै भए । एउटाले बनाएको योजना अर्कोले कार्यान्वयन गरेन ।
हाम्रो समाजमा प्रविधिप्रति आकर्षण बढाइएन । हाम्रा कति सय बर्ष देखि जोत्दै आएको काठको हलोलाई आधुनिक प्रविधिले खेत जोत्नका लागि प्रतिस्थापन गर्न सकेन । प्राविधिक सीपको विकास गरिएन । स्रोत र बजारको पहिचान गर्न सक्ने क्षमता भएन । गुणस्तरीय उत्पादनका लागि समर्पित जनशक्ति तयार गरिएन ।
यहाँ मानिसहरु जागिरे सोचबाट निर्देशित भए । सानोतिनो उद्योग गरिरहेकाहरु पनि कुटिर उद्योग जसरी मात्रै चले ।
अब हामीसँग कमीकमजोरी कोट्याएर बस्ने समय छैन । प्राकृतिक जैविक विविधताबाट फाइदा लिने समय हो यो । सिंगो नेपालको जनसंख्या अटाउन सक्ने जुम्ला, हुम्ला र डोल्पाका भिराला फाँटहरुमा समृद्धि देख्ने समय हो । ती सुन फल्ने पाखाहरुको उपयोग गर्ने समय हो यो ।
खप्तडका फाँटहरुलाई समृद्धिसँग जोड्ने समय हो यो । तराई र भित्री मधेसका बाँझा जमीनमा अगार उड जस्ता महत्वपूर्ण वृक्षले ढाक्ने समय हो यो ।
अब जडीबुटी विकास गुरुयोजना निर्माणको आवश्यकता छ । म त्यो निर्माण गर्न सक्छु । मजस्ता अरु सयौं व्यक्तिहरु पनि छटपटिइरहेका छन् । उनीहरुमा पनि केही गरौं भन्ने चिन्तन छ । तर, मेसो पाउन सकिरहेका छैनन् । निराश व्यक्तिहरु विदेश जाने सोचाई बनाइरहेका छन् । यहीँ हुँदा पनि उनीहरु डिप्रेसनमा छन् । यो अवस्थालाई राष्ट्रले बुझ्न आवश्यक छ ।
नेपाल फर्क अभियान चलाउनुपर्छ
अब विदेशमा मानिस निर्यात गर्ने समय होइन । अब हाम्रा उत्पादनले विदेशी बजारमा पडक जमाउनुुपर्छ ।
र, अहिले एउटा सुनौलो सामाजिक र राजनीतिक परिस्थिति पनि हाम्रा सामु छ । विदेशमा दिक्क भएको ठूलो जमात छ, जो देशमै केही गरौं भन्ने इच्छा, अपेक्षा राख्छ । त्यो जमात एउटा गोडा उचालेर बसेको छ, स्वदेश फर्केर यही देशमै सम्मानित जीवन बाँच्ने उपक्रम गर्न ।
तिनीहरु ज्ञान, सीप, अनुभव र बुद्घलिे निपूर्ण छन् । तिनीरुलाई राष्ट्रले नेपाल र्फक भन्ने अभियान चलाउनु पर्छ ।
र, राजनीतिक रुपमा अहिले इतिहासमै एउटा आशालाग्दो समय देखिएको छ । वामपन्थी एकता र पूर्ण बहुमतको सरकार । यो नेपालको इतिहासमा यसअघि कहिल्यै भएको थिएन । यसले धेरै मानिसमा आशाको सञ्चार भएको छ । देशको प्याराडाइम सिफ्ट भएको यो अवस्थामा, संघीयताले आशाको सञ्चार गरेको यो समयमा, जुझारु स्थानीय सरकारहरुले नयाँ-नयाँ सम्भावना पहिल्याइरहेको अवस्थामा मुलुकले विभिन्न देशमा बसेर विज्ञ्ाता हासिल गरेका व्यक्तिलाई राजा महेन्द्रले जस्तै नेपाल फर्काउने समय हो यो ।
यी सबैको भीडमा म पनि एउटा आशावादी नेपाली भएको नाताले स्वदेश फर्कें । यहीँ केही गर्न सकिन्छ भन्ने विश्वासले जरा गाडिरहेको छ । के-के गर्ने भनेर योजना बनाउँदैछु । विदेशमा रहेर स्वदेशको सम्झनामा तडपिइरहनु भएका साथीहरुलाई यहीँ केही गर्न सकिन्छ भन्ने रिस्क लिन आग्रह गर्दछु ।
कमल दलदलमा फुलेको हुन्छ । त्यो टिप्न त्यो दलदलमा होमिनुपर्छ । मैले त यसमा होमिने निधो गरें । यहाँहरुलाई पनि म यस्तै निर्णय लिन आग्रह गर्दछु । तपाईंको विज्ञताको खाँचो यो देशलाई छ ।
(भट्टराई क्यानाडाखबर डटकमका नियमित स्तम्भकार हुन् ।)