म मजदुरी गर्ने मान्छे हुँ, घर बनाउने काम गर्छु । बिहानै काममा जान्छु । साउन १० गते प्रदीप रावललाई पुलिसले समातेछ । किनकि, ९ गते कुखुरा र पैसासैसा चोरी भएको रहेछ । प्रदीपले विशालको नाम लिएछ ।
उसले विशालको घर पनि देखाइदिएछ । १० गते नै बेलुकी साढे ४ बजेतिर मेरो छोरा विशाललाई समातेर वडा पुलिस कार्यालय लगियो । त्यो दिन हिरासतमै राखे । ११ गते हामीलाई बोलाए । तर, कुखुरा र पैसा हराउने मान्छे चौकीमा आएन ।
कुर्दाकुर्दा अढाइ बज्यो । त्यसपछि हामीलाई जानूस् भने, हामी छोरालाई लिएर आयौँ । १२ गते हामी गयौँ, त्यो मान्छे १२ गते पनि आएन । त्यसपछि हामी घर फर्कियौँ । १२ गतेपछि पनि दुई–तीनपटक बोलाएको थियो ।
किनकि, निर्मलाको घटना भएको नजिकै नयाँ घर बनिरहेको थियो । घर बन्ने ठाउँमा मेरो छोराले पनि दुई–तीन दिन काम गरेको थियो । त्यहाँ काम गर्ने सबैलाई चौकीमा हाजिर गराइएको थियो । त्यही वेला विशाल पनि गएको हो । तर, सबैलाई जस्तै बुझेर मेरो छोरालाई पनि छोडियो ।
पछि, विशालको मामाको एउटा टोली मजदुरी गर्न दाङ जान थालेको थियो । विशाल पनि उनीहरूसँगै जान खोज्यो । त्यसैले मैले पुलिस कार्यालय गएर सोधेँ, ‘मेरो छोरा काम गर्न दाङ जान थालेको छ, जान मिल्छ कि मिल्दैन सर ?’ उनीहरूले आवश्यक प¥यो भने बोलाउँछौँ, अहिले जान दिनूस् भने ।
डेढ महिनासम्म दाङमा सिमेन्ट फ्याक्ट्रीमा काम गरेर दसैँमा घर आएको हो । त्यसपछि कतै गएको छैन । अस्ति फेरि मंसिर १९ गते पुलिसले विशाललाई खोज्यो । सीधै मलाई फोन गरेका थिए । म काममा थिएँ, हुन्छ पठाइदिन्छु भनेँ ।
१२ बजे म घर पुग्दा छोरा गाउँतिर निस्किएको रहेछ । पछि खबर आयो–उतैबाट पक्राउ परेछ । त्यो रात त्यहीँ राखे, राति फेरि पुलिस घरमा आए । साढे १२, १ बजेको थियो होला । उसको कपडा र चप्पल लिएर गए ।
बिहान मलाई फोन गरेर बोलाए । जिप्रकामा गएपछि उनीहरूले भने, ‘काठमाडौंमा प्रदीप रावल भन्ने पक्राउ परेको छ, उसले मान्छे चिन्छु भनेको छ, त्यसैले विशाललाई लिएर काठमाडौं जानुपर्छ । ४ बजेको फ्लाइट छ, २ बजे तयार भएर आउनू ।’
दिनेश चौधरी पनि पक्राउ परेको थियो, उसको बुबालाई पनि त्यसै भनिएको रहेछ । हामी २ बजे पुग्यौँ । त्यहाँ केटाहरूलाई एउटा गाडीमा र हामीलाई अर्को गाडीमा राखेर धनगढी र्पुयाइयो ।
धनगढीसम्म त पाँचजना पुलिसको टोली थियो । जहाजमा एकजना सरमात्र आउनुभयो । विशाललाई लिएर पुलिस सर पछाडि बस्नुभयो, हामी तीनजना अगाडि एउटै लाइनमा बस्यौँ ।
साढे ५ बजे काठमाडौँ पुग्यौँ, ६ बजे सिआइबीको कार्यालयमा पुग्यौँ । केटाहरूलाई भित्र लगियो, हामीलाई खानासाना खानुस्, टिभी हेर्नूस् भनेर हलमा राखियो । त्यसो गर्दागर्दै १० बज्यो, १२ बज्यो । साढे १२ बजे आएर मलाई भने, ‘ए विशालको बुबा तिम्रो छोराले बयान गर्न लागेको छ, ल सुन्न हिँड ।’
भित्र जाँदा १०÷१२ जना स्टाफ थिए, हामी चारजना थियौँ । पुलिसले भने–‘ल विशाल भन ।’ विशालले भन्यो, ‘हामी दुईजनाले यो गल्ती गरेका हौँ, प्रदीप र मैले गरेका हौँ ।’ त्यतिवेला ऊ पूरै नसाको झोंकमा थियो ।
‘तँ त १० गते पुलिस चौकीमा थिइस, कसरी गइस् त्यहाँ ?’ मैले यति भन्नासाथ पुलिसले ‘लौ लौ सुत्ने वेला भयो, जाऔँ’ भनेर हामीलाई बाहिर निकाले । केटाहरूले डिटेलमा केही पनि भन्न पाएनन् । त्यो दिन त्यसभन्दा बढी कुरै हुन पाएन ।
अर्को दिन बिहानै पुलिसले भने, ‘विशालको डिएनए टेस्ट गर्न थालिएको छ, त्यसको रिपोर्ट नआएसम्म उसलाई छोड्न मिल्दैन । तपाईं बस्ने कि जाने ?’ मैले भनेँ, ‘यहाँ छोरा भित्र बस्ने, आफु बाहिर बस्ने भएपछि के काम ?, म जान्छु ।’
उता, दिनेशलाई छोडिसकेको थियो । त्यसैले उनीहरूका बाबुछोरा र म घर फर्कने तयारीमा लाग्यौँ । घर आउने वेलामा एकपटक छोरा भेट्न दिनूस् भनेँ । खाना खाएर १० बजेदेखि पर्खिन थालेको, ३ बज्यो, बल्ल भेट्न पाइयो ।
भेट्नसाथ मैले सोधेँ, ‘तैँले त मैले आफैं गरेको हुँ भन्दै थिइस् हिजो, हो कि होइन ?’ उसले ‘हो’ भन्छ । तर, नसामा पूरै झ्याप थियो । तर, फेरि भन्छ, ‘हामी दुईजनाले गरेका हौँ ।’ दिनमा हो कि राति भनेर सोधेँ । ‘दिनमा हो’ भनेर जवाफ दिन्छ ।
उल्टाखाम भनेको त्यत्रो मान्छे हिँड्ने ठाउँ हो, दुईजनाले कसरी अट्याक र्गयौ भन्दा चुप लाग्छ । हो कि होइन भन् भनेर सोध्दा ‘हो’ भन्छ । मलाई लाग्छ, मेरो छोरा दबाबमा छ ।
गाँजासाँजा खाने मान्छे हो, त्यही खुवाएर त्यस्तो अवस्थामा ल्याए कि । त्यस पछि ऊसँग कुरा हुन पाएको छैन । अस्ति ३ बजे काठमाडौँबाट हिँडेको, हिजो (आइतबार) घर आइपुगेँ ।
त्यसपछि पुलिससँग पनि कुरा भएको छैन, भन्न त पुलिसले भनेको छ, ‘तिम्रो छोराले हो भनेर बयान दिएको छ, तर उसले हो भनेर मात्र पनि हुँदैन, होइन भनेर पनि हामी छोड्दैनौँ । डिएनए टेस्टले जे भन्छ, त्यही हुन्छ ।’
तर, डिएनए टेस्टमा पनि गड्बड हुन्छ कि भन्ने डर लागेको छ । हामी त पढेलेखेको छैनौँ । अन्याय हुन सक्छ ।