दुर्गा आचार्य ।
मैले भुले, मैले हिड्ने बाटोमा
तिमी सहयात्री थियौं
युद्धको त्याे आगोमा ,
तिमी शितल थियौं
तरबारको त्याे बाटोमा,
तिमी ढाल थियौं ।
म पुगे हामीले भनेका हिजोका,
शाेषक सामान्ती बस्ने कुर्सीमा
तिमी हिजाे जहाँ थियौं त्यहीँ छाै
जिउँभरि गाेलीका खाेका
मुटुभरि बेपत्ता पारिएका,
आफन्त आउने आशा
अनि सँगै मर्ने बाँच्ने कसम खाएका,
प्रियतमाकाे सम्झनामा
युद्धमा हारेकाे एक सीपाही जस्तै,
गलित, भई माईतीघर मण्डलामा
एकसराे खान, लाउन र उपचार गर्न,
मसँग मागिरहेछाै भीख।
तर हेर सहयात्री म तिमीलाई सहयाेग गर्न सक्दिन
मत, रमकाे चुस्कीमा बेहाेश छु,
बेहाेशी जस्तै भएर त, सरकारी निवासमै बसेर
घरभाडा थाप्ने क्रान्तिकारी म,
एउटी निर्मलाकाे बलात्कारी बचाउन,
उहीँ चेलीकाे हत्या गर्ने म
मसँग क्रान्तिका केही याद छैनन् ,
सफाया गरिएका निर्दाेष मान्छेका रगतले
लत्तपतिएकाे मेराे हात र मन
तिमीहरु मण्डलामा सुत्दैमा अनशन बस्दैमा,
कहाँ पग्लन्छ र ?
युद्धमा काटी- काटी, मारी – मारी,
तिमीहरु जस्तै निर्दाेषका लास माथि टेकेर म यहाँ पुगे,
अब म चिन्दिन तिमीहरु जस्तो माटाेमा लम्पसार पर्नेलाई
अब मलाई माटाेको गन्ध हाेईन,
ब्रान्डेड मधुरसकाे गन्ध मनपर्छ
विलाशिता मनपर्छ ।
अतर, रम, ह्वस्कीका अनेक ब्रान्डमा रम्ने मान्छे मनपर्छ ,
अयाेग्य, लडाकु, सहिद, बेपत्ता र द्वन्द्वपीडित,
अब मेराे कुनै शब्दकोशमा छैन ।
जहाँ पुग्ने स्वप्न अभिलाषामा म थिए
म त्यहाँ पुगिसके
तिमीहरू राेएकाे, कराएकाे सुनेर पनि,
मेराे मनमा केही हुनेछैन
किनकि म अब घुम्ने मेचमाथि बस्ने अन्धाे मान्छे भएको छु ।।