एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रबिन्द्र अधिकारीसहितका सात जनामध्ये चार जनाको शव सुकेटार विमानस्थल ल्याइएको छ । दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो ।

नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीका अनुसार खराब मौसमका कारण अन्य तीन शव भने ल्याउन सकिएको छैन । सबै शव सेनाको हेलिकोप्टरबाट डोरी झारेर झुन्ड्याएर निकालिएको प्रजिअ भण्डारीले जानकारी दिएका छन् ।

पाथिभरा दर्शन गरेर काठमाडौंका लागि उडेको मन्त्री सवार हेलिकप्टर फुङलिन नगरपालिका १० साविक फुरुम्बु गाविसको मयाम सिरानस्थित तारेढुंगा भीरमा दुर्घटनाग्रस्त भएको हो ।
क्याप्टेन प्रभाकर केसीले चलाएको एयर डाइनेस्टीको एमआई एयरबस हेलिकप्टर मन्त्री अधिकारीसहित सात यात्रुलाई लिएर तेह्रथुमको चुहानडाँडास्थित निर्माणाधीन एयरपोर्ट अवलोकनपछि ताप्लेजुङ पुगेको थियो ।

दुर्घटनामा परेर मन्त्री अधिकारीसहित पर्यटन व्यावसायी आङ्गछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुवदास भोछीभोय, प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुन घिमिरे र क्याप्टेन प्रभाकर केसीको ज्यान गएको छ ।

दुर्घटनामा ज्यान गुमाउनेको नामावली
रविन्द्र अधिकारी : मन्त्री संस्कृति पर्यटन तथा नागरिक उड्ययन
आङछिरिङ शेर्पा : अध्यक्ष यति एयरलाइन्स
वीरेन्द्रप्रसाद श्रेष्ठ : उपमहानिर्देशक नेपाल नागरिक उड्ययन प्राधिकरण
अर्जुनकुमार घिमिरे : मन्त्री अधिकारीका पिएसो
युवराज दाहाल : प्रधानमन्त्री कार्यालयका सल्लाहकार
धुब्रदास भोछिभोय : इन्जिनियर नेपाल नागरिक उड्न प्राधिकरण
हेलिकप्टर क्याप्टेन : प्रभाकर केसी

खराब मौसमका कारण हेलिकप्टर दुर्घटना
गृह मन्त्रालयका अनुसार हेलिकप्टर दुर्घटना खराब मौसमका कारण भएको हो । मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘खराब मौसमका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
१२ वर्ष अघि ताप्लेजुङमा भएको अर्को हेलिकप्टर दुर्घटनाको कारण पनि खराब मौसम नै थियो । सदरमुकाम फुङलिङबाट अढाइ दिनको पैदल दूरीमा टाढाको घुन्सा दुर्घटनाबारे छानबिन गर्न पुरावेदन अदालत पाटनका तत्कालीन मुख्य न्यायाधीश जनकेशरीराज पण्डितको संयोजकत्वमा गठित सात सदस्यीय कार्यदलले मौसमी खराबले हेलिकप्टर दुर्घटना भएको निश्कर्ष निकालेको थियो ।

पण्डित कार्यदलले १८ मंसिर २०६३ मा बुझाएको प्रतिवेदन अनुसार दुर्घटनाका बेलामा ताप्लेजुङमा बादल लाग्ने र छिनछिनमा हल्का वर्षा भइरहेको थियो । घुन्सा क्षेत्रको भिजिबिलीटी पनि प्रष्ट थिएन । स्थानीय मौसमको ख्याल नगरी उडान भर्दा दुर्घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
७ असोज २०६३ मा घुन्सामा भएको दुर्घटनामा परेर तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राई सहित २४ जनाको ज्यान गएको थियो । मृतक मध्ये १६ जना नेपाली र आठ जना विदेशी नागरिक थिए ।

तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि त्यहाँ पुगेका अधिकारी
हेलिकप्टरमा मन्त्री राईकी श्रीमती मीना राई, भूगोलविद डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भूसंरक्षण मन्त्रालयका सचिव डा. दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल सवार थिए ।
त्यस्तै विश्व वन्यजन्तु कोषका नेपाल प्रतिनिधि डा. चन्द्रप्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय श्रेष्ठ, दावा शेर्पा, यशी लामा, मिङमानोर्बु शेर्पा, डा. जील बाउलिङ, जेनीफर हेडली, माथीउ प्रिस लगायत थिए ।