CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • ‘८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता’मा एनआरएन खेलाडी सहभागी हुने

    आठौं राष्ट्रिय खेलकुदमा एनआरएनएबाट २४ खेलाडी सहभागी हुने भएका छन् ।

    सात राष्ट्रबाट विभिन्न ९ खेलमा २२ पुरुष र २ महिला गरी २४ एनआरएनए खेलाडीले प्रतिस्पर्धा गर्ने आइतबार आयोजित पत्रकार सम्मेलनमा एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी गराउनुभयाे । खेलाडी बाहेक एनआरएनएबाट २ प्रशिक्षक र ४ निर्णायक पनि आठौं राष्ट्रियमा सहभागी हुनेछन् ।

    सबैभन्दा बढी करातेमा १२ खेलाडी रहेका छन् । पुरुषतर्फ करातेमा यूएईबाट विजय तामाङ, लक्ष्मण मगर, उत्तम गुरुङ, कुमार भुसाल, लोकबहादुर श्रेष्ठ र रामबहादुर तामाङ, मकाउबाट नानबहादुर थापा र लोकमानसिंह श्रेष्ठ, अमेरिकाबाट जनकसिंह खड्का तथा मलेसियाबाट नोर्बु तामाङले प्रतिस्पर्धा गर्ने भएका छन् ।

    करातेमै भाग लिने दुई महिला खेलाडीमा शान्तिदेवी अधिरकारीले मकाउ तथा १७ औं इन्चोन एसियाडमा नेपाललाई पदकविहीन हुनबाट जोगाएकी विमला तामाङले अमेरिकाबाट खेल्नेछन् ।

    फुल कन्ट्याक्टमा जापानबाट अविरल घिमिरे, जुडोमा अस्ट्रेलियाबाट मोहन बम, बक्सिङमा जापानबाट प्रचण्ड केसी, लनटेनिसमा अस्ट्रेलियाबाट अमृत पौडेल र संरक्षकभूषण वज्राचार्य, गोल्फमा हङकङबाट लवकुमार गुरुङ, ब्याडमिन्टनमा युएईका विक्की बुढा, सूर्य गिरी र हिरालाल श्रेष्ठ, एथलेटिक्सको म्याराथनमा मकाउबाट नारी चन्द तथा तेक्वान्दोमा युएईबाट नवीन श्रेष्ठ र अमेरिकाबाट पुष्प थापा मगरले सहभागिता जनाउने जानकारी दिइयो ।

    पत्रकार सम्मेलनमा २४ खेलाडीले प्रतिस्पर्धा गर्ने स्पर्धा समेत सार्वजनिक गरिएको थियो ।

    निर्णायकमा रवि शाही, योगेन्द्र कोइराला, शान्त ठोकर र राजेश कर्माचार्य तथा टिम प्रशिक्षकमा ११ औं दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत करातेका स्वर्णधारी सुनिल लामा र पर्शुराम घिमिरे छन् ।

    बृहत राष्ट्रिय खेलकुदमा एनआरएनए टोली पहिलो पटक सहभागी हुन लागेको हो । आठौं राष्ट्रियमा एनआरएनएसहित सात प्रदेश र तीन विभागीय टिम -आर्मी-प्रहरी र एपीएफ गरी ११ टिमको सहभागिता रहने छ । आजको उज्यालोमा खबर छ ।