CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • टोरोन्टोमा ७५ नेपाली बालबालिकालाई फुटबल प्रशिक्षण ( फोटो सहित )

    टोरोन्टोमा नेपाली खेलकुदको रौनक सकियो, सवै न्याश्रिए छोरोछोरी फूटबलमा व्यस्त, अभिभावकहरु कफी गफमा मस्त


    बद्री तिमल्सिना – क्यानाडाखबर, टोरोन्टो ।

    टोरोन्टो र स्कारबोरो क्षेत्रमा बसोबास गर्ने नेपालीहरु यसवर्ष झण्डै ३ महिनादेखि खेलकुद र गफगाफमा व्यस्त बने । आफ्ना बालबच्चाहरुलाई फूटबल खेल्न मैदानमा पठाएपछि अभिभावकहरुको काम कफिको चुस्कीसंगै गफ छांटेर बस्ने हुन्थ्यो । टोरोन्टो नेप्लिज स्पोर्टस क्लव टिएनएससीले विशेषगरि यहां बसोबास गर्ने नेपालीहरुका लागि यस्तो माहोल बनाइदिएको हो ।

    विद्यालय विदाको समयमा घरभित्र भन्दा पनि बाहिरिय खेलकुद गतिविधि गराउने उद्देश्यले एनआरएनए क्यानडासंगै विभिन्न स्थानिय संघसंस्थाहरुसंग सहकार्य गरेर टिएनएससीले झण्डै ७५ बालबालिकाहरुलाई फूटबल खेलाउन शुरु गरेको थियो । बालबालिका फूटवल खेलिरहदा अभिभावकहरुका लागि दौड प्रतियोगिता पनि संचालन गरिएको थियो, र हरेक हप्ता एकजनालाई विजेता बनाइन्थ्यो । भिक्टोरियापार्कको डेन्टोनिया पार्कमा हरेक हप्ताको शनिवार हुने यस गतिविधिमा स्वतस्फूर्तरुपमा विभिन्न संघसंस्थाहरु देखि व्यक्तिगत तवरले पनि सहयोग गर्नेहरुको भिडनै चल्यो ।

    सयभन्दा बढि नेपाली परिवारहरु यस अभियानमा सामेल भएर र सहयोग गरे । हप्ताभरि काम गरेको थकान मेटाउने एउटा प्रमुख माध्यम मात्र बनेन खेल विदाका समयमा घरभित्र बसेर टिभी र ल्यापटप हेरेर बस्ने बालकालिकालागी पनि यो एकदिन महत्वपूर्ण बन्यो । अभिभावकहरुका लागि पनि महिनौ सम्म हुन नसकेको साथीभाईसंगको भेटघाट अहिले हरेक हप्ता हुन्छ र संगै कफी पनि पिउंछन् ।

    तर यो वातावरण यसवर्षका लागि सकिएको छ । मे महिनाको १९ बाट शुरु भएको यो ऐतिहासिक अभियान अगस्ट १८ बाट औपचारिक रुपमा सकियो । नेपाली बालबालिकाहरुका लागि लक्षित गरि संचालन गराइएको यो फूटबल बालबच्चा,वयस्क र बृद्धबृद्धा सवैका लागि उतिकै रोमाञ्चक बन्यो । आफ्ना बालबालिकाहरुका लागि साह्रै प्रभावकारि र भूल्न नसकिने किसिमका गतिविधिहरु संचालन गरेकोमा आयोजकलाई धन्यवाद दिएका छन् । यस वर्षका लागि यो कार्यक्रम सकिएपनि झझल्को बालबालिकाहरु र अभिभावकहरुलाई न्याश्रो बनाइदिएको सहभागीहरुको प्रतिक्रिया छ । यो फूटबल प्रशिक्षण अभियानमा निरन्तर ४ महिना सम्म मुख्य प्रशिक्षकका रुपमा चन्द्र राईले सहयोग गरेका थिए ।

    यससंगै अव हरेक वर्ष यस्तै समयमा यस्ता खेलकुद गतिविधिहरु गर्न सबै एकमत भएर सहयोग गर्ने प्रतिबद्धता जनाएकाले हरेक वर्ष आयोजना गरिर्ने वातावरण बनिसकेको क्लवका अध्यक्ष दिपेन्द्रजंग केसीले बताए । उता यो अभियान क्यानडामै पहिलो र सफल भएको क्लवका महासचिव रविन्द्र लम्सालको दावी छ । किड्स सकर ( बच्चाहरुको फूटबल ) मा हरेक हप्ता कोहि न कोहि नयां पाहुना सहभागी हुन्थे ।

    एनआरएनए ग्लोवलका कुमार पन्त, कुल आचार्य लगायतका प्रतिनिधिहरु पनि बच्चाहरुको यो खेल हेर्न आइपुगे । खेलको समापनमा क्यानडाका लागि नेपाली राजदूत भृगु ढुंगानाले यस्ता गतिविधिहरुले बच्चाहरुका लागि मात्र नभएर अभिभावहरु विच पनि सामिप्यता ल्याएको बताए । पछिल्ला दिनहरुमा स्थानिय संघसंस्थाहरु मिलेर स्थानिय भावना अनुसारका गतिविधिहरु गर्न थालेका छन् ।