CanadaKhabar.com

Friday, May 10, 2024 -
  • नेपालको सीमा अतिक्रमणविरुद्ध क्यानडामा प्रदर्शन, भने ‘ब्याक अफ इन्डिया’

    बद्री तिमल्सिना, टोरोन्टो । भारतबाट नेपालमा भइरहेको सिमा अतिक्रमणको विरोधमा सर्वत्र विरोध भइरहेका वेला गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए क्यानडाको नेतृत्वमा टोरोन्टोस्थित भारतीय दुतावास अगाडी पनि प्रदर्शन गरिएको छ । भारत सरकारले पछिल्लो समयमा नेपालका भूभागहरु कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता क्षेत्रहरु आफ्नो राष्ट्रिय नक्शाभित्र समेटेपछि त्यसको विरोधमा एनआरएनए क्यानडाले टोरोन्टोस्थित दूतावासमा बिरोध पत्र बुझाएको हो ।

    टोरोन्टो, स्कारबोरो, मिसिसागा ब्राम्पटन लगायत ग्रेटर टोरोन्टोका विभिन्न सहरबाट उल्लेख्यरुपमा सहभागी नेपाली संघसंस्थाका प्रतिनिधिहरुले दूतावास अगाडी केहिबेर प्रदर्शन समेत गरेका थिए । नेपालको अतिक्रमित भूभाग फिर्ता गर्नुपर्ने, नेपालको स्वाभिमानमाथिको हस्तक्षेप बन्द गर्नुपर्ने, भारतीय हेपाहा प्रबृत्ति सधैको लागि अन्त्य हुनुपर्ने जस्ता नाराहरु घन्काउंदै दूताबासअगाडी प्रदर्शन भएको थियो ।

    विरोधसभामा स्थानिय संघसंस्थाका प्रतिनिधिहरुले नेपालका सिमा क्षेत्रमा भइरहेका सिमा अतिक्रमण तत्काल बन्द गरेर अतिक्रमित भूभाग फिर्ता नगरे क्यानडाबासी नेपालीहरुले थप कदम समेत चाल्न सक्ने एउटै स्वरमा चेतावनी दिएका छन् । साथै उनिहरुले हप्तौं वितिसक्दा पनि नेपाल सरकारले केही कदम चाल्न नसकेको भन्दै यथाशिघ्र कूटनीतिक कदमबाट समस्या समाधान गर्न आग्रह पनि गरेका छन् ।

    यसरी सभालाई सम्बोधन गर्नेहरुमा एनआरएनए क्यानडाका तर्फबाट अध्यक्ष चिरन्जिवी घिमिरे, पूर्व अध्यक्ष एवं वर्तमान आइसिसी सदस्य गोपीकृष्ण काफ्ले, संस्थापक नवराज गुरुड, वर्तमान उपाध्यक्ष विजय पौडेल, एनसीसीएस टोरोन्टोका अध्यक्ष विदुर केसी, एनसीएनसीकी सचिव संगीता जिसी, प्रवासी नेपाली मञ्च क्यानडाका अध्यक्ष रमेश थापा, एनआरएनए क्यानडाका सल्लाहकार मुगा राजभण्डारी लगायतका प्रतिनिधिहरु थिए । एनआरएनए क्यानडाकै नेतृत्वमा सोही दिन राजधानी अटोवा र भ्यानकुवरस्थित भारतीय दूतावासमा विरोध पत्र बुझाइएको छ ।

    त्यहांपनि उल्लेख्यरुपमा नेपाली समुदायका प्रतिनिधिहरुको सहभागितामा विभिन्न प्लेकार्डहरुसहित दूतावास अगाडी केहि समय प्रदर्शन गर्दै ज्ञापन पत्र बुझाइएको थियो । स्मरण रहोस, भारत सरकारको पछिल्लो सार्वजनिक राष्ट्रिय नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता महत्वपूर्ण भूभागहरु समेटिएपछि यो भारतको हेपाहा शैली भएको भन्दै देश तथा विदेशबाट चौतर्फी विरोध र प्रदर्शनहरु भइरहेका छन् ।