CanadaKhabar.com

Thursday, May 9, 2024 -
  • क्यानडाका तीन वटै क्षेत्रमा नेपाली हेल्प डेस्क


    निरन्तरतामा केही कठिनाइ आउनसक्छन् : वक्ताहरु

    क्यानाडाखबर ब्युरो – टोरोन्टो । नेपाली समुदायका लागि अवदेखि क्यानडाका पूर्व, पश्चिम र मध्ये भेग गरि तीनवटै क्षेत्रमा गैर आवासीय नेपाली संघ एनआरएनए क्यानडाको सहयोगी कक्ष ( हेल्प डेस्क) स्थापना भएको छ । मध्य तथा पश्चिमी क्षेत्रमा यसअघि सुरु भइसकेपनि बांकी रहेको पूर्वी भेगमा शनिबारदेखि मात्र सुरु भएको हो । यससंगै नेपाली समुदायका लागि महत्वपूर्ण मानिएको एनआरएनए क्यानडाको हेल्प डेस्कले पूर्णता पाएको मानिएको छ । तर यसका लागि अझै केही प्राविधिक काम भइरहेको र विभिन्न कार्य क्षेत्रबाट सदस्यहरु थप्न सकिने एनआरएनए क्यानडाका महासचिव पिताम्बर भट्टराईले जानकारी दिए ।

    एनआरएनए क्यानडाका उपाध्यक्ष हेमन्त थापा (उज्वल ) को संयोजकत्वमा बनाइएको पूर्वी भेगको हेल्प डेस्क संचालनका विषयमा टोरोन्टोमा भएको अन्तक्र्रियात्मक कार्यक्रममा स्थानिय नेपाली संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी एवं बुद्धिजिवीहरुले हेल्प डेस्कबाट समुदायको हित हुनेमा कुनै शंका नभएपनि भविष्यमा केही कठिनाइहरु पनि आउने तर्फ सचेत गराएका थिए ।

    वर्तमान आइसीसी सदस्य गोपीकृष्ण काफ्लेले यस कार्य सफल पार्न सवै तह तप्काबाट उत्तिकै प्रयासको आवश्यकता रहेको भन्दै आफ्नो तर्फबाट पनि सक्दो सहयोग रहने बताए । यस्तै उत्तरी अमेरिकाका अवैतनिक सल्लाहकार रविन्द्र घिमिरेसंगै डा. हरि गुरुड, कन्सर्न नेपालका संयोजक डा. तुल्सी धरेल, एनसीसीएस टोरोन्टोका अध्यक्ष विदुर केसी, भवी न्यौपाने, रमेश प्रसाई, सुमन लम्साल लगायतका संघसंस्थाका प्रतिनिधिहरुले हेल्प डेस्क स्थापना गर्नु स्वागतयोग्य भएको भन्दै यसलाई अफ्ठेरो पर्ने किसिमका समस्याहरु पनि आउन सक्ने तर्फ सचेत गराएका थिए ।

    तथ्यांक संकलन र गोपनियताको कुरालाई विशेष ध्यान दिनुपर्ने उनिहरुको सुझाव थियो । टोरोन्टो, स्कारबोर्रो, अटोवा लगायत पूर्वी क्षेत्रलाई समेट्ने गरि विभिन्न कार्यक्षेत्रबाट संयोजकहरु नियुक्त गरिएको छ । यसरि नियुक्त हुने संयोजकहरुमा डा. तुल्सी धरेल, डा राजेन्द्र पराजुलि, कृष्ण के सी, दिपेन राउत क्षेत्री, कृष्ण आचार्य, बिनोद कोइराला, उज्वल उपाध्याय, जमुना गुरुङ, सुशिला दहाल, रिषीराज बराल, हेम झा, कर्ण बटाला, प्रकाश सिङ्ग, विना ब्रम्हा, पवन मास्के, तुलशी पाठक र दिपेन्द्र के सी छन् भने मिडिया संयोजकमा अटोवाबाट भानुभक्त आचार्यलाई नियुक्त गरिएको छ ।

    एनआरएनए क्यानडाका सचिव फडिन्द्र श्रेष्ठले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष उज्वल थापाले आफ्नो क्षेत्रमा नियुक्त गरिएका संयोजकहरु र हेल्प डेस्कको अवधारणाबारे प्रस्ट्याउनु भएको थियो । कार्यक्रमलाई समापन गर्दै एनआरएनए क्यानडाका अध्यक्ष चिरन्जिवी घिमिरेले यो अभियानलाई सफल पार्न सवै क्षेत्रमा आवद्ध नेपाली समुदायलाई आव्हान गरेका छन् ।

    विभिन्न सोसियल मिडिया मार्फत यस्तो र उस्तो भनिरहनु भन्दा पनि यो अभियानमा सहभागी भएर आफ्नो सिप र क्षमतालाई सामुदायिक हितका लागि प्रयोग गर्न उनले आग्रह गरे ।