CanadaKhabar.com

Friday, May 10, 2024 -
  • बस्ताकोटीको “संगै संगै” गजलमा बसन्तको स्वर

    कन्चन म्युजिक इन्टरटेनमेन्टले हालै “संगै संगै” बोलको कर्णप्रिय गजल अमेरिकाको नर्थ क्यरोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना र बसन्त खड्काको स्वर तथा संगीत रहेको उक्त गजलमा दीप तुलाधरले संगीत संयोजन गरेका छन् । गजलको भोकल रेकर्डिङ् नर्थ क्यरोलाइना निवासी समीर सायमीले गरेका हुन् भने म्युजिक रेकर्डिङ् र सम्पादनको काम काठमाडौँको कमलपोखरी स्थित भ्वाइस रेकर्डिङ् स्टुडियोमा गरिएको हो । यो गजलको ध्वनी सम्पादन (अडियो एञ्जिनियारिङ्ग) दीप तुलाधरले गरेका छन् भने दृश्य सम्पादन अल्बर्ट बस्ताकोटीको रहेको छ ।

    “कन्चन” गीत गजल एल्बमको तयारीमा रहेका बसन्त खड्काले “संगै संगै ” गजल कन्चन एल्बमको शिर्ष गजलको रुपमा रहने बताए ।

    गायनमा तीन दशक लामो अनुभव बनाइसकेका “छाल झैँ कपाल” र “पिउँदा पिउँदा ” जस्ता कालजयी गीतका गायक बसन्त खड्का र गजल लेखनमा दुइ दशक भन्दा लामो इतिहास बनाएका डा ऋषि बस्ताकोटीको सहकार्यमा आएको “संगै संगै” गजलले पनि स्रोताहरुको मन जित्ने विस्वास गरिएको छ ।

    गजलकार डा बस्ताकोटीका अनुसार कोरोना भाइरसले विश्वलाई नै त्रस्त बनाएको समयमा सार्वजनिक गरिएको यो गजलले सुख दुखमा पारिवारिक साथ सहयोगको महत्व र आपसी प्रेमलाइ झल्काउञ्छ । गजलमा:
    “संगै संगै हाँस्न पाइयोस्, संगै रुन पाइयोस्
    सुखदुख जे जे परोस्, संगै हुन पाइयोस्”
    जस्ता संदेशमुलक र सुललित शव्दहरू रहेका छन् । घरमा बसेर पारिवारिक वातावरणमा सुन्न उपयुक्त खालको यो गजल तलको लिंकमा सुन्न/ हेर्न सकिन्छ ।