क्यानडाखबर डेस्क । गोरखा नगरपालिका ११ तेह्रकिलोमा निजी स्तरबाट कृषि अनुसन्धान केन्द्र स्थापना गरिएको छ । गैरसरकारी संघ संस्थामा आवद्ध ब्यक्ति ब्यापारी ब्यवशायी सहित २३ जनाको टोलीले एक करोड २५ लाख रुपैयाँको लागतमा एकिकरण कृषि फर्म तथा अनुसन्धान केन्द्र सुरु गरेका हुन् ।
७ रोपनी आफ्नै र ८० रोपनी भाडामा जग्गा लिएर केन्द्र संचालनमा ल्याइएको अध्यक्ष हरि देबकोटाले बताए । ‘मोडल फार्मको रुपमा बिकास गर्ने गरी संचालन गरेका हौँ’ अध्यक्ष देबकोटाले भने ‘यहाँबाट अन्त्रय साना फार्मलाई बिक्री गर्ने, नयाँ फार्म संञ्चालन गर्न प्रोत्साहन गर्ने, अध्ययन र अनुसन्धान गर्ने ठाउँको बिकास गर्ने योजना हो ।’ अहिले एक सयवटा बाख्रा रहेको र तीन सय पुर्याउने लक्ष्य फार्म संचालकहरुको छ ।

कृषि तथा पशुपालन फर्ममा बङ्गुरपालन, तरकारी खेती, माछापालन, ४० घार मौरी, छ । ‘गोरखा घुम्न आउने विद्यार्थी वा कृषकलाई यहाँ एक पटक आउने, घुम्ने, अनुसन्धान गर्ने ठाउँको रुपमा बिकास गर्छौँ’ प्रबन्ध निर्देशक प्रदिप खनालले भने । उक्त फर्म २०७६ फागुन ३० गतेदेखि सुरु भएको थियो । कृषि उत्पादान आयात गर्नुपर्ने भएकाले स्थानीय स्तरमै उत्पादन बढाउन फार्मबाट मद्धत पुग्ने उनले बताए ।
उक्त केन्द्रको शनिवार गण्डकी प्रदेशका भूमि ब्यवस्था कृषि तथा शहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै उनले कृषिमा ब्यवशायिकरण बढाउन अनुसन्धान केन्द्र, ठूला फर्महरु संञ्चालन हुनुपर्नेमा जोड दिए । बाँझो जग्गालाई उपभोग गर्ने र कृषिमा युवा आकर्षण बढाउन ब्याजमा अनुदान दिने योजना मन्त्रालयको रहेको मन्त्री थापाले बताए । ‘कृषिमा अधिकतम ११ प्रतिशत सम्म ब्याज लिन पाउने र पाँच प्रतिशत सरकारले तिरिदिने ब्यवस्था गरेका छौँ’ उनले भने ‘किसानलाई बैंक, सहकारीबाट ऋण लिँदा अधिकतम ६ प्रतिशत मात्रै पर्छ ।’

गण्डकी प्रदेश सरकारले दैनिक दुईसय लिटर दूध उत्पादन गर्ने सहकारी वा ब्यक्तिलाई प्रतिलिटर दुईरुपैयाँ ५० पैसा अनुदान दिने, निशुल्क पशुबस्तुको बिमा गरिदिने, घाँसमा अनुदान, नश्ल सुधारमा अनुदान दिने कार्यक्रम संचालन गरेको उनले बताए । घाँस स्रोत केन्द्र, दाना उद्योग, खेतीको ब्लक निर्माण जस्ता काममा प्रदेश सरकारले लगानी गर्ने मन्त्री थापाले बताए । साथै उनले अनुदान लिने किसानलाई त्यसको सही सदुपयोग गर्न सुझाब दिए ।
‘केही ठाउँमा अनुदानको सदुपयोग नभएको गुनासो आएको छ’ उनले भने ‘यसलाई ब्यवस्थित गछौँ ।’
फार्मका सञ्चालक सदस्य सिता राम श्रेष्ठले गैरसरकारी संस्थाले कृषि क्षेत्रमा गरेको सहयोग र लगानीबाट किसानले धेरै फाईदा लिन नसक्नुको कारण पत्ता लगाउन आफैँ सञ्चालक बनेको बताए । ‘कृषि, पशुपालनमा के समस्या छ, अप्ठ्यारो के छ भन्ने पहिचान गर्न पनि हामीले फार्म सञ्चालन गरेका हौँ’ उनले भने ।