CanadaKhabar.com

Monday, May 13, 2024 -
  • ‘विपिन शर्मा स्मृति खुला फुटसल’को फाइनल : हरिसिद्धिलाई उपाधि

    विपिन शर्मा स्मृति खुला फुटसल प्रतियोगिताको उपाधि हरिसिद्धि फुटसलले जितेको छ । स्वयम्भूस्थित द एक्सेल्सियर स्कुलमा भएको प्रतियोगिताको फाइनलमा हरिसिद्धिले इभ भिजलाई ४–० गोलले पराजित गरेको थियो ।
    उपाधिसंगै हरिसिद्धिले ७५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार हात पार्यो । खेलमा इभ भिजले दोस्रो स्थान संगै ३५ हजार ५ सय ५५ रुपैयाँमा जिन्न सफल ।

    साहस स्पोर्ट्सद्वारा आयोजित प्रतियोगितामा हरिसिद्धिका सन्दिप कार्की उत्कृष्ट खेलाडी घोषित भए । हरिसिद्धिका धीरज तामाङ उत्कृष्ट गोलरक्षक चुनिए । उत्कृष्टद्वयले जनही २ हजार ५ सय नगद पुरस्कार हात पारे । नेपाल आयल निगम अनुशासित टिम ठहरियो ।

    विजेतालाई नेपाल ओलिम्पक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजक, स्वयम्भू क्लबका अध्यक्ष श्याम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । एकदिने प्रतियोगितामा ३२ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

    प्रतियोगिता स्वयम्भू क्लबका पूर्व फुटबल खेलाडी विपिन शर्माको परिवारका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले गरिएको हो । प्रतियोगिता संयोजक महेश मल्ल ठकुरी र सह–संयोजक सन्तोष न्यौपानेले स्व. शर्माकी आमालाई एक लाख नगद सहयोग स्वरुप प्रदान गरे ।
    यो प्रतियोगितालाई अब हरेक वर्ष आयोजना गरिने आयोजकले बताएका छन् ।