क्यानडाखबर डेस्क ।
कोलकातामा आयोजित २७औं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएका नेपाली युवा ज्योतिषविद् आशिष प्रसाद सिंखडा पद्म भूषण पदक तथा N.C. Leheri Gold Medal बाट सम्मानित भएका छन् । Indian Institute of Oriental Heritage तथा विश्व ज्योतिष विद्यापीठ को संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनमा नेपालका प्रतिनिधिको रूपमा सहभागी भएका सिंखडाले अन्तर्राष्ट्रिय ज्योतिष समुदायमा नेपालको गरिमा उच्च बनाएका छन्।

सम्मेलनमा तमिलनाडु राज्यका गभर्नर रविन्द्र नारायण रवि, कोलकत्ता विधान सभा सदस्य तनमय भट्टाचार्य, उच्च अदालत तथा सर्वोच्च अदालतका न्यायाधीश न्यायमूर्ति संबुद्ध चक्रवर्ती र न्यायमूर्ति प्रताप केआर रोय लगायतको उपस्थिति रहेको थियो। जगतगुरु शंकराचार्य स्वामी नरेन्द्र नन्द सरस्वती (सुमेरु पीठ, काशी) ले विशेष मन्तव्य दिएका थिए।
३ दिने उक्त सम्मेलनमा पश्चिम बंगाल राज्यका अग्नि मन्त्री, विभिन्न विश्वविद्यालयका कुलपति (Chancellors) र उप-कुलपति (Vice Chancellors) तथा विभिन्न देशका राजदूतहरू सहभागी भएका थिए। सनातन धर्म, संस्कृति, तन्त्र विद्या, ज्योतिषशास्त्र लगायतका विषयमा वक्ताहरूले मन्तव्य राखेका थिए।
सम्मेलनको दोस्रो दिन, पश्चिम बंगालकी चर्चित अभिनेत्रीहरू चुम्की चौधरी तथा इन्द्राणी मजुमदार को उपस्थिति रहेको थियो।
कार्यक्रमको अन्तिम दिन, विश्व ज्योतिष विद्यापीठका प्रमुख डा. रामकृष्ण शास्त्री ले ज्योतिषशास्त्र, तन्त्रशास्त्र तथा पूर्वीय दर्शन विषयमा विशेष प्रवचन दिएका थिए। Indian Institute of Oriental Heritage की सभापति डा. गोपा शास्त्री ले “वेद र विज्ञान” विषयमा मन्तव्य राख्दै सम्मेलन समापनको घोषणा गरिन्।
नेपालका ज्योतिष क्षेत्रका लागि यो विशेष गर्वको विषय बनेको छ। पद्म भूषण पदक तथा N.C. Leheri Gold Medal प्राप्त गर्न सफल आशिष सिंखडालाई नेपालका सनातन धर्म अनुयायीहरू, ज्योतिष तथा तन्त्रशास्त्रमा रुचि राख्ने सम्पूर्ण व्यक्तिहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।