CanadaKhabar.com

Monday, December 15, 2025 -

सृजनशील नेपाली समाज क्यानाडाको तिज कार्यक्रम हुँदै : मन्त्रीदेखि सांसदसम्मको सहभागिता हुने !

मदन बस्नेत – क्यानडाखबर ।

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरमा क्यानडाको जिटिए क्षेत्रलाई आफ्नो समाजसेवाको क्षेत्र बनाएर आफ्नो स्थापना कालदेखि क्यानेडेली मूलप्रवाहमा नेपाली समाजलाई परिचित गराउने अभियानमा जुटेको सामाजिक संस्था सृजनशील नेपाली समाजले आगामी अगस्ट २४ गते आइतबारका दिन “हरितालिका तीज २०८२: शुभकामना आदान प्रदान तथा नाचगान कार्यकम” को आयोजना गर्दैछ।

नेपाली गितसंगितको दुनियाँमा अलग्गै पहिचान बनाउन सफल गायिका सत्यकला राई र गायक, संगीतकार तथा संगीत प्रशिक्षक भानु वलीको बिशेष प्रस्तुति रहने तिज कार्यक्रम “द स्टेज म्याग्ना” १३२० एल्समेयर रोड, स्कारब्रोमा हुँदैछ। 

कार्यक्रममा सहभागिताकोलागी वयस्कहरुलाई ३० डलर र ६-१४ बर्ष उमेर समुहकालागी १५ डलरको टिकटको ब्यबस्था गरिएको छ। ६ बर्ष र सो भन्दा कम उमेरका केटाकेटीकालागी भने प्रवेश निशुल्क गरिएको आयोजक पक्षले जनाएको छ। तिज कार्यक्रम साँझ ६ बजे सुरु भएर राती ११ बजे समापन हुनेछ। कार्यक्रममा सहभागी सबैलाई तिज पर्वको उपलक्ष्यमा बिशेष डिनर “दर” को पनि व्यवस्था गरिएको छ।

कार्यक्रमको सबैभन्दा आकर्षक पक्ष क्यानाडामा हुर्के बढेका केटाकेटी र यतै जन्मेर यतैको परिवेशमा घुलमिल भएका भाइबहिनीहरुले नेपाली मौलिक गितसंगितमा नेपाली वेषभुषा र पहिरनमा नाचगान र सांगीतिक कोसेली पस्किने छ्न्। त्यसकालागी संस्थाको आयोजना र ब्यबस्थापनमा गत तीन महिना देखि ५ देखि १२ बर्ष उमेर समुहका लगभग सय बालबालिकालाई मादल, पियानो र नृत्य  प्रशिक्षण गरिएको थियो।  

ती बालबालिकालाई सृजनशिलकै पुर्व प्रशिक्षार्थीहरु अपेक्षा पाण्डे, सौरभी पौड्याल र निष्ठा सापकोटाले नृत्य प्रशिक्षण गरेका हुन् भने पियानोको प्रशिक्षण हाईस्कुल अध्य्यनरत बिशेष केसीले गरेका हुन्। 

कार्यक्रममा प्रशिक्षित बालबालिकाकै स्वर र उनीहरू आफैंले बजाएको मादल र पियानोको सांगीतिक धुनमा नेपाल र क्यानडा दुबै देशको राष्ट्रिय गान प्रस्तुत गरिने छ।

तिजको अवसर भएकाले कार्यक्रममा १४ जना महिलाहरुद्वारा तिज गीतमा बिशेष सामुहिक नृत्य प्रस्तुत गर्ने छ्न्। उक्त नृत्यको प्रशिक्षण स्वीकृति घिमिरेले गरेकी हुन्। 

कार्यक्रममा सहभागी हुन र तिज बिशेष पर्वको शुभकामना प्रदान गर्न क्यानडा संघीय सरकारको पूर्वमन्त्रीदेखि बर्तमान सांसदहरुको सहभागीता रहने जानकारी संस्थाका संरक्षक शिशिर पाण्डेले दिनु भएको छ। वहाँका अनुसार पूर्व आवास, पूर्वाधार र कम्युनिटी मन्त्री, ईस्ट योर्क क्षेत्रका एमपि माननीय नथानिएल एर्स्काइन-स्मिथ, स्कारबोरो सेन्टर, डनभ्याली ईस्टकी एमपि माननीय सलमा जाहिद, स्कारबोरो उत्तरका एमपि माननीय शॉन चेन, अन्टारियो प्रान्तका मन्त्री माननीय रेमन्ड सुङ जुन चो, स्कारबोरो गिल्डवुड क्षेत्रकी एमपीपी श्रीमती एन्ड्रिया हेजेल, स्कारबोरो केन्द्रका काउन्सिलर माइकल थम्पसन, स्कारबोरो-दक्षिणपश्चिम क्षेत्रका काउन्सिलर पार्थी कान्डभेल लगायतका बिशेष अतिथिहरुलाई औपचारिक रुपमा निमन्त्रणा गरिएको र वहाँहरुबाट कार्यक्रममा सहभागीताको प्रतिबद्धता प्राप्त भईसकेको छ।

कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको र  हालसम्म टिकट बुकिङ पनि ८० प्रतिशतको हाराहारीमा भईसकेको जानकारी संस्थाका अध्यक्ष देबेन्द्र कार्कीले गराउनु भएको छ। कार्कीले कार्यक्रमलाई सफल बनाउन र आफ्ना केटाकेटीले प्रस्तुत गर्ने नेपाली गीत, संगीत र नृत्यलाई प्रत्यक्षदर्शी बनेर गौरवान्वित हुने अवसर नगुमाउन सबैमा बिनम्र अनुरोध गर्नु भएको छ।