बा, सुन न !
म छोपिँदा, उध्रेको कमिज फेर्यौ कि उस्तै छ?
म टाढिँदा, भिजेको परेली सुक्यो कि उस्तै छ?
झरीमा मलाई सिटामोल ल्याउँदा कुद्थ्यौ बेस्सरी,
भन्देऊ न बा, त्यो प्यारो साईकल बिग्र्यो कि उस्तै छ ?
गोधुली साँझमा, तिम्रो त्यो नयन टोलाउँछ होला है
निस्किन्न “हजुर”, तै पनि मलाई बोलाउँछौ होला है
मलाई नठोक्काउन, तिम्रा ती हत्केला
ठोक्किएका थिए है,
भन न बा ? हत्केलाका घाउ पुरिए कि दु:रुस्तै छ?
बा, भन न !
ऐनामा देखिने यो सुन्दर स्वरूप, बनाईन्छ कसरी?
सिकाउ न बा, भक्कानिँदा पनि रमाइन्छ कसरी?
कति सानो सपना तिम्रो ? मात्रै मेरो मुख हेर्ने !
बा, मैले “मलाई” भेटाइसकेको जस्तो लाग्छ,
सन्तानलाई भेटाउन आफ्नै अस्तित्व, गुमाइन्छ कसरी?
बा, सुन न !
रहरको शहरमा सबै चिज पुग्दा, खै के हो नपुग छ?
पात्रोको पानामा बा तिम्रो मुख हेर्ने मितिको तुक छ
खोजेनौ ऐना मलाई नै हेरेर जिन्दगी बितायौ,
थाहा छ बा? तिम्रो मुख मात्रै हेर्नलाई मलाई यही जुनी अपुग छ !

