क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा
नेपालमा सरकारले सूचिकरण नभएका फेसबुकलगायतका सामाजिक सञ्जालका २६ प्लाटफर्मलाई निष्क्रिय गराउन गएको बिहीबार इन्टरनेट सेवा प्रदायकहरूलाई पत्राचार गरेपछी देश भित्र र बाहिर सबैतिर त्यसको चर्को बिरोध सुरु भएको छ।
अल-जजिरा, एपी न्युज, रोयटर्स, डीडब्लु, टेकक्रन्च लगायतका प्रमुख अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सामाजिक सञ्जाल प्रतिबन्धबारे समाचार कभरेज गरेका छ्न् र अधिकांस सञ्चारमाध्यमहरुले सरकारको उक्त कदमलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुशको रूपमा हेरेका छन्।
टिकटक, भाइबर र अन्य तीन सामाजिक सञ्जाल प्लेटफर्महरूले भने सरकारसँग दर्ता गरेकाले सञ्चालनमा रहने नेपालको सरकारी पक्षले जनाएको छ।
सूचीकरण नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय कार्यान्वयन हुन थालेसँगै फेसबुक र ट्वीटर (एक्स) ले सूचीकरणका लागि नेपाल सरकारको सम्पर्कमा आएको सरकारी पक्षले जनाएको छ।
दर्ता नभएका फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द भएपछि नेपालमा दर्ता भएको सामाजिक सञ्जाल भाइबर व्यापक रूपमा डाउनलोड गरिएको छ । यतिसम्मकी नेपालमा सबैभन्दा बढी भाइबर डाउनलोड हुन पुगेको छ । डाउनलोडको सूचीमा हिजोसम्म ८० भन्दा पछाडि रहेको भाइबर आज एक नम्बरमा पुगेको हो ।

