CanadaKhabar.com

Tuesday, August 18, 2026 -

शिक्षाविद् र कूटनीतिज्ञ हर्षनारायण धौभडेलको निधन

क्यालगरी। नेपालको शिक्षा क्षेत्र र कूटनीतिमा लामो समय योगदान दिएका वरिष्ठ शिक्षाविद् तथा पूर्वराजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा शनिबार क्यानाडाको क्यालगरीमा निधन भएको छ।

त्रिभुवन विश्वविद्यालयमा झण्डै चार दशक शैक्षिक सेवा गरेका धौभडेलले प्राध्यापनसँगै विश्वविद्यालय प्रशासनका विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिए। शिक्षा क्षेत्रमा उनको योगदानसँगै लोकतान्त्रिक आन्दोलनमा प्राध्यापकहरूको नेतृत्व गर्ने व्यक्तित्वका रूपमा पनि उनको परिचय स्थापित थियो।

दीर्घ समयदेखि पार्किन्सन्स रोगबाट प्रभावित धौभडेलको अस्पतालमा थप उपचार सम्भव नभएपछि उनलाई छोरी निशाको क्यालगरीस्थित घरमा राखिएको थियो। त्यही क्रममा उनको निधन भएको ज्वाइँ ज्योति वैद्यले जानकारी दिएका छन्। उनका चार छोरीमध्ये तीन जना क्यानाडा र एक जना अमेरिकामा बस्दै आएका छन्।

सिराहामा जन्मिएका धौभडेलको पारिवारिक जरा भने भक्तपुरसँग जोडिएको थियो। उनका हजुरबुबा शंकरदास रोजगारीका सिलसिलामा सिराहा पुगेपछि परिवारले त्यहीँ बसोबास थालेको थियो। प्रारम्भिक शिक्षा सिराहामा लिएका उनले भारतको जयनगरबाट माध्यमिक तहको अध्ययन पूरा गरेका थिए।

उच्च शिक्षाका क्रममा उनले त्रिचन्द्र क्याम्पस र पटना विश्वविद्यालयबाट बी.ए. तथा बी.एड., जवाहरलाल नेहरू विश्वविद्यालयबाट एम.एड. तथा अमेरिकाको ओरेगन विश्वविद्यालयबाट सन् १९८३ मा विशेष शिक्षामा स्नातकोत्तर गरेका थिए।

शैक्षिक क्षेत्रमा उनको व्यावसायिक यात्रा सिद्धार्थ वनस्थली स्कुलको प्रिन्सिपलबाट सुरु भएको थियो। त्यसपछि त्रिभुवन विश्वविद्यालयमा वि.सं. २०२१ देखि २०५७ सम्म निरन्तर सेवा गरे। विश्वविद्यालयमा प्राध्यापकका अतिरिक्त कान्ति छात्रावासको वार्डेन, महेन्द्ररत्न क्याम्पस ताहाचलका क्याम्पस प्रमुख, शिक्षाशास्त्र संकायका सहायक डिन तथा डिन र शिक्षा विकास तथा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशकको जिम्मेवारी उनले सम्हालेका थिए।

विश्वविद्यालयको नियमित सेवाबाट अवकाश लिएपछि पनि उनको शैक्षिक सक्रियता रोकिएन। वि.सं. २०६८ सम्म विभिन्न शैक्षिक संस्थामा परामर्शदाताका रूपमा काम गर्दै उनले शिक्षा क्षेत्रसँगको आफ्नो सम्बन्ध कायम राखेका थिए।

शिक्षण र प्राज्ञिक क्षेत्रसँगै धौभडेल सार्वजनिक तथा राजनीतिक जीवनमा पनि सक्रिय थिए। वामपन्थी विचारधारासँग निकट रहेका उनले नेपालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको २०४६ सालको जनआन्दोलनमा प्राध्यापक समुदायको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। नेपाल प्राध्यापक संघ र पेशागत महासंघको अध्यक्षका रूपमा समेत उनले जिम्मेवारी सम्हालेका थिए।

वि.सं. २०५० को दासढुङ्गा दुर्घटना छानबिन आयोगका सदस्यसमेत रहेका धौभडेल सन् १९९५ देखि १९९६ सम्म भारत र भुटानका लागि नेपालको राजदूत नियुक्त भएका थिए। शिक्षा, सार्वजनिक सेवा, लोकतान्त्रिक आन्दोलन र कूटनीतिमा उनले पुर्‍याएको योगदानले उनलाई नेपालको सार्वजनिक जीवनमा बहुआयामिक व्यक्तित्वका रूपमा स्थापित गरेको थियो।

धौभडेलकी पत्नी शशीप्रभा धौभडेलले पनि करिब तीन दशक लिटल एन्जेल्स स्कुलमा अध्यापन गरेकी थिइन्। धौभडेल दम्पतीका चार छोरी डा. संगीता, इन्जिनियर निशा, रश्मी र डा. प्रज्ञा छन्। उनका ज्वाइँहरू तथा चार नातिनातिना छन्।

धौभडेलको निधनसँगै नेपाली शिक्षा र कूटनीतिक क्षेत्रमा लामो समय योगदान दिएको एउटा पुस्ताको महत्वपूर्ण व्यक्तित्व गुमेको छ। उनको ज्ञान, शैक्षिक दृष्टिकोण, सार्वजनिक योगदान र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धता आगामी पुस्ताका लागि स्मरणीय रहनेछ।