देश

अन्तत काठमाडौं आईपुग्ने भो रेल

By canadakhabar

May 13, 2016

– एजेन्सी, काठमाडौं

वैशाख ३१

चीनले नेपाललाई लक्षित गरेर बुधबारबाट रेल सेवा सुरु गरेको छ । नेपालका लागि उपभोग्य सामान बोकेको रेल चीनको उत्तरपश्चिमी प्रान्त कान्सु राजधानी लान्चाउबाट तिब्बतको सिगात्सेकालागि हिँडेको छ । उक्त रेलको अन्तिम गन्तव्य राजधानी काठमाडौं भएपनि हाललाई सिगात्सेसम्म र त्यहाँबाट सडकमार्ग हुँदै चीनको केरुङ नाकासम्म सामान आइपुग्ने छ ।

चिनियाँ सञ्चार माध्ययमका अनुसार लान्चाउबाट २ हजार ४ सय ३१ किलोमिटरको दुरी तय गर्दै मालवाहक रेल सिगात्से पुग्ने छ । तिब्बतको सिगात्सेबाट ५ सय ६४ किलोमिटर सडकमार्गको यात्रापछि उक्त कार्गो केरुङसम्म पुग्छ । त्यहाँबाट थप १६० किलोमिटरको थप यात्रा पश्चात सामानहरू काठमाडौं आइपुग्ने छन् ।

रेलमार्गको उल्लेखित रुट तय गर्दै कार्गो सामान काठमाडौं आइपुग्न १० दिनको समय लाग्ने छ । चिनियाँ सञ्चार माध्यमका अनुसार उक्त रुटबाट सामान काठमाडौं पुग्न समुद्री रुटभन्दा ३५ दिन कम लाग्छ ।

लान्चाउबाट छुटेको उक्त मालवाहक रेलमा ४३ वटा गाडी र दैनिक उपभोग्य सामान बोकेका ८६ वटा कार्गो कन्टेनरहरू छन् ।

गत महिना प्रधानमन्त्री केपीशर्मा अाेलीकाे चीन भ्रमणका बेला दुई देशबीच भएकाे पारवाहन सम्झौता अनुरुप रेल सेवा सुरु भएकाे हाे । रेलसेवाले चीनका विभिन्न प्रान्तकाे दक्षिण एशियाका मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न मद्दत पुग्ने विश्वास चीनले लिएकाे छ ।