रेखा शाह
नेपाली नारीहरुको महान् चाड हरितालिका अर्थात् तीज । तीजको गरिमा र महिमा निकै पुरानो छ । यसको महत्व धर्मसँग, संस्कृतिसँग, परम्परासँग र संगीतसँग जोडिएको छ । यो व्यवहारिक र नारी प्रधान चाड हो तर अचेल यसको गरिमा घट्दै गएको छ र नारीहरुकै कारण घट्दै गएको भन्ने आरोप पनि लागेको छ । म एउटी गायिका हुँ र मैले सानै देखि तीजका गीतहरु गाउँदै आएकी छु । आमा हजुरआमाहरुसँग सिकेका ती गीत्हरुको गरिमा र अहिले गाइएका गीतहरुको बीचमा धेरै अन्तर छ । समय अनुसार परिवर्तन आए पनि र नारीले भन्ने कुरा र राज्यसँग माग्ने कुरा बीच अन्तर रहे पनि सबै कुरा बीच कुनै न कुनै अन्तर सम्बन्ध हुन्छ । लैङ्कि चेतनाले हेर्दा पनि नारीले भन्ने र नारीका विषयमा भन्ने कुरा बीच विशेष अन्तर छ र हुन्छ तर नारी आफैंले आफ्नो पहिचान र स्वत्व हेर्ने कि नहेर्ने ? महिलाकै कारण महिलाको गरिमा घटेको चर्चा चलिरहँदा यो नारी विशेषको चिन्ताको विषय हो भन्ने मलाई लाग्छ । गीतमा विकृति, रहनसहन र खानपानमा उत्ताउलोपन र सामाजिक संस्कार र संस्कृतिको क्षतिजस्ता कुरामा नारीको नाम जोडिँदा यसको जवाफ सम्बन्धितले दिनुपर्छ कि पर्दैन ? दरका नाममा किन महिनौंदेखि रवाफिलो र भड्किलो भतेर चल्छ ? किन चल्छ गहनाको प्रदर्शन र सम्पत्तिको प्रदर्शनी ? आफ्नो स्वतन्त्रता अनुरुप चल्ने र पर्व मनाउने स्वतन्त्रता सबैलाई छ तर एउटा व्यक्ति वा परिवार विशेषले गर्ने रामरमाइलोको चेपुवामा अरु परे के हुन्छ ? के दिन्छ यसले सन्देश ? एउटी नारीका कारण अर्की नारी अप्ठ्यारोमा छिन् भने किन नसोच्ने ? प्राय मध्यम र निम्न मध्यम वर्गीय परिवारको बाहुलता छ सहरी समाजमा । यहाँ हुने हरेक कर्मको छाप पर्छ तिनको दैनिकीमा । अरुले बोलाएको ठाउँमा जानु पनि पर्छ र गए पछि त्यही अनुरुप गर्नु पनि पर्छ तर गर्ने कसरी ? तीज आए पछि धेरैलाई तनाव भएको मैले देखेकी छु । यो सामाजिक कुरा हो । तीजसँग संगीत पनि जोडिएको छ । संगीत विना तीजको कल्पनै गर्न सकिन्न र यसको गरिमा लोकगीत दुनियाँमा उच्च छ । यसको मिठास, विषय र गम्भीरता उच्च छ हिमालय पुत्री पार्वतीसँग जोडिएको कथाको प्रसङ्ग जे होस् तर समाजमा आज पनि प्रेमका कुरा, समर्पणका कुरा, दुखका कुरा, पतिका कुरा, संगीतका कुरा, माइतीका कुरा, दरखाने कुरा र साथीसंगको मिलन, यी तीजका सदावहार सम्बन्ध हुन् । आज यो सम्बन्धको अर्थ कसरी विकास र विनास भएको छ त ? हेरिनुपर्ने र समाजशास्त्रीय तथा लैङ्गि चेतनाले हेरिनुपर्ने कुरा यी हुन् । कलाकार देशका ठूला सम्पत्ति र पहिचान हुन् तर कलाकार हल्का र हावादारी भैदिनाले पनि केही विकृति आएको सत्य हो । सबैलाई म भन्दिनँ तर केही कलाकार साथीहरुको कला व्यापारको मोहले संस्कृतिमा विकृति आएको छ । तीजसँग माइती जोडिन्छ तर हामीले गाएका गीत माइतीसँगै बस्न र सुन्न नमिल्ने भयो भने के हुन्छ ? टिभीमा आफ्नै गीत आउँदा तीज मनाइरहेका आफन्तबाट भाग्नु प¥यो भने वा टिभी म्यूट गर्नु प¥यो भने के हुन्छ ? आज कतिपय गीत त्यस्तै छन् । समाजको दुःख, दर्द, माइतीको ममता र सम्झना पुरै बदलिएकै हो त ? हैन । तसर्थ तीजलाई संस्कृतिका रुपमा जोगाऊँ । के खाने कस्तो लाउने यो निजी मामिला हो तर कला कसैको निजी हैन र हुनुहुदैन । यसको सार्वजनिकीकरण र वितरणको मामिलामा जोगिनु जरुरी छ । आज बजारमा चलेका गीत, दरको फेसन र तामझम बीच कहाँ छ पुरानो तीज र सांस्कृतिक सम्बन्धको पुरानो साइनो ? नयाँ गीत गर्ने स्वतन्त्रता छ, नयाँ प्रयोग र पद्दतिको म पनि सम्मान गर्छु । सधैं गुन्यु चोलीमै बेरिनु पर्छ त्यो पनि हैन । नयाँ प्रयोग रचनामा संगीतमा र गायनमा गर्नै हुन्न भन्ने मेरो भनाइ होइन तर पर्वका आड टेकेर गाइने गीतमा पर्वको सुगन्ध हुनै पर्छ भन्ने मेरो अनुरोध हो । मैले पनि गाएकी छु, फरक गीत, फरक शैलीको भिडियो बनाएकी छु र प्रयोग गर्न खोजेकी छु तर मैले कला मूल्य मारेकी छैन । कलालाई सम्मान गरौं र तीजलाई तीज जस्तै प्रिय बनाऊँ ।
(रेखा लोक गायिका हुन् । उनको ‘सिमसिमे पानीमा’ लगायतका गीतहरु सदाबहार चर्चित छन् )